अनलाइन पत्रपत्रिका पढेर म अफिसमा बसिरहेको थिएँ । आजभोलि प्रेसमा छापिएर पत्रिका बजारमा नआइपुग्दै अनलाइनमै सबैै खबर थाहा पाउन सकिने सजिलो प्रविधि छ । त्यसदिन पनि म त्यो दिनका चर्चायोग्य समाचार पढ्दै बसेको थिएँ । अफिसको ढोका खोलेर रामचन्द्र दाइ भित्र आउनुभयो ।
‘के गर्दै हुनुहुन्छ भाइ ?’ राम दाइ बोल्न सुरु गर्नुभो ।
‘यसो पत्रपत्रिका पढ्दै बसेको छु दाइ । आजका समाचार के–के छन् भनेर हेर्दैछु ।’ राम दाइलाई मेरो जवाफ सधैंझंै थियो ।
एकैछिनमा हामी दुवै कम्प्युटरतिर आँखा गाडेर बस्यौं । राम दाइ मेरो कोठा वा अफिसमा आएपछि जहिले नि हामीले कम्प्युटरमा इन्टरनेट वा स्टोर गरिएका अरु कुनै सामग्री पढ्ने र हेर्ने गर्छौं । त्यसदिन हामी दुवैले इन्टरनेटमा ध्यान दिई व्यस्त जस्तै बन्यौं । हाम्रो ध्यान कम्प्युटर भएतिर पूर्णरुपमा तानियो ।
मैले गुगल खोलें ।

करिब १० वर्षअघि रोल्पा आएका विदेशी पत्रकारले रोल्पाबारे के समाचार लेखे होलान् भनेर मैले गुगलमा खोज्न थालें । त्यसबेला मेरो सम्पर्कमा आएका केही युरोपेली र एसियाकै जापान, भारतलगायतका देशका पत्रकारको नाम लेख्दै गुगलमा खोज्ने मेसो सुरु गरें । मैले लेखिरहेको एउटा किताबको रेफरेन्सका लागि तिनीहरुले रोल्पामा आइ गरेका ‘युद्ध रिपोर्टिङ’बारे गहिरो अनुसन्धान÷अध्ययन गर्ने कार्य मैले केही वर्ष यता गरिरहेको छु । राम दाइले मैले तयार पारेका केही लेखोट÷टिप्पणीबारे जिज्ञासा राखेपछि मैले उनलाई सविस्तार केहीअघि नै बताइसकेको छु ।
राम दाइले यी सबै दृश्य देखिरहे । सुनिरहे ।
‘भाइ गुगलमा मेरो छोरोलाई खोज्नुस् त ।’ राम दाइले मेरो खोजाइको गहिराइ नियाल्दै भने । उनको यो भनाइले मेरो गुगल खोजाइलाई थप गहिरो बनाइदियो कम्तीमा त्यस दिनका लागि । यसपछि मेरो खोज नेपालको युद्ध रिपोर्टिङमा विदेशी पत्रकारमा सीमित रहेन । राम दाइको छोरोलाई भेटाउनुपर्ने जिम्मेवारी पनि आइलाग्यो । त्यसैले म थप गहिरिएँ गुगलतिर ।
‘मेरो छोरोको नाम सन्देश श्रेष्ठ हो । खोज्नुस् है । तस्बिर भए हेरौंला ।’
राम दाइ अर्थात् कलाकार रामचन्द्र श्रेष्ठ । जन्म स्थान रोल्पाको लिबाङ । बुबा बाग्लुङबाट रोल्पा आएका उनैले भनेका थिए मलाई । रोल्पा लिबाङको बीचबजार, कसै–कसैले ठट्टयौलीमा यस बजारलाई ‘पाकिस्तान’ पनि भन्छन् । पाकिस्तान किन भनिएको हो भन्ने बारेमा यसको पनि कथा छ । राम दाइको घर यही बजारमा छ । दाइलाई सबैले कलाकार भनेर चिन्दछन् । कुनै पुस्तकको कभरमा आवरण, कार्यक्रमको व्यानर लेखाउनु प¥यो भने मानिसहरु उनको घरछेउ आवातजावत गरिरहेका भेटिन्छन् । मैले पनि ती मानिसलाई कैयौं पटक देखे–भेटेको छु । राम दाइलाई पनि कैयौं व्यानर लेखिरहेको, पुस्तकको आवरण स्केच गरिरहेको र भित्ताहरुमा सुन्दर चित्र बनाइरहेको अवस्थामा मैले देखेको छु ।
‘बुबा शिक्षक भएर मुलुकभर हिड्दा रोल्पामा आउनु भएको हो । सुदूरपश्चिमको अछामबाट बिहे गरी रोल्पा आएपछि बुबाको अन्तिम बसाइ रोल्पा हो ।’ राम दाइको स्वर विगत सम्झेर भावविभोर भयो । उनका बुबा बेपत्ता भएको लामो समयपछि राम दाइकी आमाले उनलाई हुर्काइ पढाइ गरिन् ।
अनि, ‘त्यसपछि म कलाकार बनें ।’ दर्जनौं मूर्ति र सयौं चित्र बनाइसकेका राम दाइले भने ।
‘छोरोको तस्बिर देख्न सकिन्छ ?’
मैले गुगलमा राम दाइको जेठो छोरोको नाम लेखेर खोज्न सुरु गरें ।
‘उसको फेसबुक पनि छ रे ।’
राम दाइको आफ्नो छोरो गुगलबाट पत्ता लगाउने र देख्ने मनको हुटहुटी बढेको मैले बुझें । मेरा हातका औंलाले कम्प्युटरको किबोर्डमा अलि गति बढाए । मेरो अन्तस्करणले पनि भन्यो– राम दाइ चाँडै छोरो देख्न चाहन्छन् । मन र आँखाले छोरो स्पर्श गर्न चाहन्छन् ।
चाहेमा उनले आफ्नो छोरोको सुन्दर तस्बिर स्केच गर्न सक्छन् । तर पढ्न आमासँग थोरै टाढा बसेको छोरोको तस्बिर स्केच नगर्ने उनको निष्कर्ष छ ।
‘एक दिन मेरो छोरो मकहाँ आउँछ । म किन स्केच गरी उसलाई हेर्ने ?’ एउटा बुबाले आफ्नो छोरोको माया मेट्न तस्बिर वा स्केच गरेर पूरा गर्न सक्दैन भन्ने कुरामा म राम दाइको यो भनाइबाट पूरापूर सन्तुष्ट र विश्वस्त छु । तर छोरो उसको बुबालाई भेट्न नआए के गर्ने ?’
राम दाइले कैयौंको तस्बिरको स्केच गरेर रङ्ग भरेका छन् । कैयौंलाई आफैले बनाएका आकृति उपहार सुम्पेका छन् । आफ्ना बुबाको अनुहार याद नभएको बताउने राम दाइले स्वर्गीय आमाको सुन्दर अनुहार बनाएका छन् । त्यसमा रङ्ग भरेका छन् र आफ्नो अफिसमा झुण्ड्याएका छन् । कैयौं मानिसलाई उनका कलाकृतिले लोभ्याएको छ । आकर्षित गरेको छ ।
‘कान्छो त अलि सानो छ, ठूलोको फेसबुक पनि छ रे भन्ने सुनेको छु । साँच्ची फेसबुक भनेको के हो र यसमा के–के हुन्छ भाइ ? जेठोको नाम सन्देश हो । खोज्नु भो ?’
राम दाइको तीनवटै प्रश्न ममाथि बर्सिए । मैले पनि टाउको हल्लाएर एकछिन पर्खन संकेत गरें र दाइको प्रश्नको जवाफ कम्प्युटरको स्क्रिनमा देखाउन मेरो हातको गति बढाएँ । मेरा हातका दशैवटा औंलाले किबोर्डलाई पहिलेभन्दा बढेको गतिमा थिचें । र त्यो आवाज मेरो कानसम्म पुग्यो ।
‘म परिवारबाट अलग भएको निकै वर्ष भयो भाइ । छोरा पनि पढेर÷बढेर ठूला भए ।’ दाइले एक्कासी पुनः आफ्नो कथा–व्यथा बताए । मैले बुझेसम्म राम दाइ यति ठूलो कलाकार भए पनि उनी लामो समय परिवारबाट अलग छन् । एक्लै एक्लो घरमा बस्दै आएका छन् । कलाकृति र कलाकारिताको भावना उनका साथी छन् । आमाको निधन भएपछि एउटी बहिनी, पत्नी र दुई छोरा आफूबाट अलग भएपछि राम दाइले एकप्रकारले पारिवारिक विग्रहको सामना गरिरहेका छन् । तर पनि उनी एक महान् कलाकार हुन्, भलै उनको कलाकृतिलाई राज्य वा सहर बजारका ‘बुद्धिजीवी’ र ठूला समीक्षकले देखेका छैनन् । रोल्पा, दाङ मात्र हैन, सम्पूर्ण रापती र राजधानीका कलाकार, पत्रकार, साहित्यकारका माझ रामचन्द्र श्रेष्ठ परिचित छन् । उनको बेग्लै ओज दरिएको छ ।
मेरो जानकारीमा राम दाइ एउटा राष्ट्रिय कलाकार हुन् । उनले २०५२ सालमा राष्ट्रिय प्रतिभा पुरस्कार पाए । उनका कला खासगरी चित्र, क्यानभास र पुस्तकावरण राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चामा छन् । कैयौंले उनका कलालाई आफ्नो घरको भित्तामा सजाएका छन् । साहित्यका पाठकका हात–हातमा पुगेका पुस्तकसँगै उनको कला पुगेको छ । कला देखिएको छ । सबैले राम्रो र आकर्षक आवरण देखेर पुस्तक किनेका छन् । मलाई थाहा छ– एक पटक राम दाइलाई चिनेको र कला देखेको मानिसले कैयौं समय र दूरी तय गरेर उनको कला पाउन लालायित हुन्छन् ।
के राम दाइलाई उनको छोरोले स्पर्श गरेको छैन ? मेरो मनमा अचानक प्रश्न उब्जियो ।
मैले गुगलमा राम दाइको छोरोको नाम लेखेर खोज्दा सयौं–हजारौं नतिजा देखिए । मेरो फेसबुक एकाउन्टमा पनि राम दाइको छोरो सन्देश श्रेष्ठलाई खोजें । त्यहाँ पनि सयौं नाम देखिए ।
‘मेरो छोरो छान्न र चिन्न धौ भयो भाइ ।’ ४० वर्ष नाघेका राम दाइका आँखा सुक्ष्म अक्षर देख्न कठीन भइरहेको मैले अनुमान लगाएँ । गुगल र फेसबुकमा देखिएका उनको छोरोकै जस्ता नामहरु र तिनका तस्बिरहरु देखाएँ । राम दाइ झन् अलमलमा परे । उनी एक तमासले आफ्नो छोरोको खोजी गरेर थाक्लान् जस्ता देखिए । गुगल र फेसबुकमा देखिएका उनको छोरोको जस्तो नाम र तस्बिरको संख्या सयौं मात्र हैन हजारौं देखिए ।
‘यो हो कि ! त्यो हो कि ! यति धेरै छन् कसरी चिन्ने ।’ राम दाइका आँखा कम्प्युटरतिर लगातार सोझिएका छन् । मैले कम्प्युटरको कर्सर (एरो चिन्ह) तलमाथि सार्दै गएँ । दाइले उनको छोरोजस्तो अनुहार भएको सन्देश श्रेष्ठलाई हेरिरहें । मैले इन्टरनेटमा अर्को ब्राउज गरी गुगलमा राम दाइको कान्छो छोरो संगम श्रेष्ठलाई पनि खोजी सुरु गरें ।
दाइले त्यो हेरिरहे ।
‘यी मध्ये एउटा सन्देश हो कि !’ दाइले छोरोको अनुहार देख्ने हुटहुटी अरु बढाए ।
राम दाइलाई मैले चिनेको करिब १४ वर्ष भयो । गाउँबाट पत्रकार बन्ने सपना बोकेर म लिबाङ आउँदा उनको बारेमा रोल्पामै सुनेको थिएँ । तत्कालीन समयमा मानवअधिकारकर्मी घनश्याम आचार्य र साहित्यकारद्वय टेकेन्द्र जीएम र डीबी टुहुरोले उनका बारेमा व्यक्त गरेका शब्द र परिचय राम दाइ र उनको कलाकारिताबारेमा चिन्नका लागि ती शब्द पर्याप्त नै थिए । तर उनीसँग भेट चाहिं दाङको घोराहीमा भएको थियो । घोराही बजार (तत्कालीन बैंक रोड)को मध्य भागमा राम दाइको साइनबोर्ड लेख्ने सानो कार्यालय थियो । साँघुरो तर सुन्दर कलाले भरिएको उनको कोठा र अफिसमा म उहिल्यै पुगेको थिएँ । त्यही चिनेको थिएँ उनलाई मैले ।
त्यसो त २०५३ देखि २०६२ सम्म दाङमा आयोजना भएका सबै खालका साहित्यिक भेलाहरुमा राम दाइका बारेमा चर्चा चल्थे । म रोल्पाको भएका नाताले अग्रज पत्रकार/साहित्यकारहरुले म सँगसँगै राम दाइका बारेमा बोल्थे र साहित्यिक प्रेम दर्साउँथे । म त्यो क्षणलाई अहिले पनि सम्झन्छु । मेरो निष्कर्ष छ– म राम दाइका कारणले चिनिन्थें । मेरो कारणले राम दाइबारे चर्चा चल्थ्यो ।
‘लिबाङमा कला प्रदर्शनी गर्नुपर्छ दाइ ।’ गुगल खोज्दै गरेका बेला मैले बीचैमा रामदाइलाई भनें ।
राम दाइले दाङमा पटक–पटक कला प्रदर्शनी गरेका छन् । उनका रचनाको घेरा फैलाउन र श्रीबृद्धि गर्नमा दाङस्थित मिडिया र साहित्यकार÷पत्रकारहरुको योगदान अमूल्य र अतुलनीय रहेको छ । यो कुरा राम दाइ पटक–पटक भन्छन् । रोल्पामा उनका कैयौं कलाकार चेला जन्मिएका छन् । तर उनी अरु जन्माउने सोचाइमा छन् । कला खुम्चिएको हैन, फैलिएको देख्न/हेर्न उनको मन दौडिएको छ ।
‘तपाईंको कला दौडिएर राजधानीसम्म पुग्नुपर्छ दाइ ।’ गुगलमा राम दाइको दुवै छोरा फेला पर्ने कुनै संकेत नपाइसकेपछि मैले राम दाइतिर फर्केर भनें, ‘तपाईंका छोरा खोज्न गुगल र कम्प्युटरमा हैन, तपाईं र म सडक बाटोमा हिडौं ।’
‘उनीहरु दाङमा छन् क्या । पढिरहेका छन् ।’ सन्देश श्रेष्ठ नाम गरेको एक विद्यार्थी पद्मोदय उच्च मावि ठेगानामा देखिएपछि उनले भने, ‘यही पढ्छ जेठोले । यो हो कि ?’
तस्बिर तानेर ‘जुम’ गरेर देखाउँदा ऊ अर्कै रहेछ ।
राम दाइको कान्छो छोरो संगम पनि कहीं कतै देखा परेन ।
‘छोराले पढिसके भने बुबालाई भेट्न आउलान् नि भाइ ।’ दुवै छोरालाई कलाकार र कलाकारिताबारे चेतना दिन चाहेका राम दाइले भने, ‘आज ढिला भयो, अर्को दिन फेरि सन्देश र संगमलाई गुगलमै खोजौंला ।’
कम्प्युटरमा इन्टरनेटको सहायताले कलाकार रामचन्द्र श्रेष्ठ दाइका दुइ छोरा सन्देश र संगमलाई गुगलबाट खोज्न कस्सिएको मैले त्यस दिनका लागि इन्टरनेटको तार छुटाएँ । कम्प्युटरको ‘स्टार्ट’ मेनुमा क्लिक गरें, बिदा हुन कम्प्युटरले ‘सट डाउन’ देखायो । मैले क्लिक गरें ।
एकछिनमै कम्प्युटरले स्क्रिन अँध्यारो÷कालो देखायो । मैले ब्यागमा कम्प्युटर राखें र राम दाइसँगै न्यू चन्दन चिया पसलतिर लागें ।
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *