‘पहिले गाउँबाट पैसा जम्मा गरेर सामान किन्न बजार पुग्नुपर्थ्यो । अहिले पैसा लिएर मानिस हामीलाई खोज्दै सामान लिएर गाउँमा आइपुग्छन्’

काशीराम डाँगी/रोल्पा

— कोइलाबास कुनै बेला दाङ, रोल्पा, प्यूठान, रुकुम, सल्यानलगायत जिल्लाको नुन किन्ने एकमात्र बजार थियो । रोल्पाबाट २२ दिनदेखि एक महिनासम्म एकतर्फी हिँडेर हटारु (भारी बोकेर नुन ल्याउने समूह) बनेर नुन किन्न जान्थे । पश्चिमी रोल्पाको घर्तीगाउँको झिनुवाबाट कोइलाबास पुग्न २८ दिन लाग्थ्यो ।

रोल्पाबाट नुन लिन दाङ र भारतको सीमामा पर्ने कोइलाबास पुगेको याद गर्दै पूर्वी रोल्पाको जेलबाङका हटारु । तस्बिर : काशीराम/कान्तिपुर

१० पटक नुन लिन हटारु बनेर कोइलाबास पुगेका झिनुवाका ६८ वर्षीय हीरालाल वलीले १ सय २० जना एकैसाथ पुगेको सम्झिए । ‘ठूलै जत्थामा हिँड्दा निकै रमाइलो हुन्थ्यो । घरैबाट खाना बोकेर नुन लिन जाँदाको रमाइलो क्षण अब सुन्नेलाई किंवदन्ती जस्तो बनेको छ,’ उनले भने, ‘झिनुवाबाट कोइलाबास पुग्न आठवटा भन्दा बढी त खोल्सा र डाँडामा बास बस्नुपर्थ्यो ।’

घरबाट निस्केपछि हटारुको जत्था हान्जाबाङ, त्रिवेणी, दहवन, तोसपेदा, भैंसे गोगली, मसौट खोला, गढवा, अम्बास र चोरखोलीमा बास बसेपछि मात्र अर्को दिन कोइलाबास पुग्थ्यो । कोइलाबासमा नुन, कपडा र भेली किन्न आठ दिन लाग्थ्यो । पहिलो दिन त उछिट्टेलाई नचाउन लाग्थ्यो । कोइलाबास पहिलोपटक जानेलाई उतिबेला ‘उछिट्टे’ भन्ने चलन थियो र उसलाई गुड (भेली मिठाई) का डल्लाले हानेर स्वागत गर्ने चलन थियो । यो चलन कोइलाबासका पसलेले नै सुरु गरेका थिए । नुन लिने टोलीका प्रमुखले ती ‘उछिट्टे’ लाई बेस्सरी नचाउँथे पनि ।

त्यसपछि मालुका पात टिप्न, नुनलाई पोकामा राखेर भारी बनाउन एक साता लाग्थ्यो । ‘घरबाट लगेको जिनिस बेचेपछि मात्रै के किन्ने भन्ने निर्णय हुन्थ्यो,’ उनले भने, ‘आधा महिना हिँडेर घरबाट बजार पुग्दा निकै आनन्द हुन्थ्यो ।’ कोइलाबास पुगेर पात टिप्ने, बाबियो खोज्ने र डोरी बनाउने काम अगुवाले गर्थे भने अन्यले सघाउने चलन थियो । घरबाट निस्केपछि कोइलाबास पुग्नुअघिको बाटो आसपासका गाउँमा खर्च (बाटोमा खाने अन्न) राख्दै झर्ने र फर्कंदा लिने चलन थियो । जुन घरमा खर्च राखिएको हुन्थ्यो, त्यही घरमा मिठाई (भेली) बाँड्ने गरेको वलीको सम्झना छ । हटारुले तलतिर झर्दा बास बस्ने ठाउँ नजिकैका घरमा अन्नका पोका–पन्तुरा झुन्ड्याई छाड्थे ।

कोइलाबासबाट नुन लिन कम्तीमा एक दर्जन गाउँका हटारु एकैसाथ जान्थे । त्यसो गर्दा सुरक्षा, सरसहयोग र रमाइलो यात्रा महत्त्वपूर्ण मानिन्थ्यो । कोइलाबास पुगेर नुनको भारी बोकेर साथै आएका साथीहरू पर्सराम खड्का, वीरबहादुर खड्का, शशे खत्री र म्याउसे वलीलगायतसँग उनको अहिले पनि भेट भइरहन्छ । उनको टोलीमा ओत, झिनुवा, जिनाबाङ, पाखापानी, पाछाबाङ, राँकलगायत गाउँमा हटारु साथै जान्थे । उनीहरूले गाउँबाट कोइलाबास जाँदा वनका जडीबुटी, टिम्मुर, घिउ, मह, सिमी र भटमासलगायत जिनिस बेच्न लैजान्थे । पश्चिमी रोल्पाका धेरै गाउँका हटारुको हाङजाबाङ गाउँ बास बस्ने मुख्य थलोमध्येको एक थियो । हटारुलाई घरमै बास बस्न दिएकामध्येका ७५ वर्षीय झुपल डाँगीले भने, ‘ती दिन रमाइला थिए । हटारु र हामीबीच गज्जबको मित्रवत् सम्बन्ध थियो ।’

 

जेलबाङबाट २२ दिनमा कोइलाबास

जेलबाङबाट हटारुलाई कोइलाबास पुग्न २२ दिन लाग्थ्यो । ‘आउँदा र जाँदा करिब दुई महिनै लाग्थ्यो,’ जेलबाङका ८० वर्षीय ढाँट परियारले सम्झिए, ‘म नुन लिन कोइलाबास कम्तीमा ६/७ पटक पुगेँ ।’

अहिले नुन, तेल, लत्ताकपडा र औषधिलगायत अत्यावश्यक सामग्री घर छेउमै आइपुग्छ । सडक भए गाडीले ल्याइदिन्छ, नभए घोडा–खच्चड प्रशस्तै छन् । कोइलाबास जाँदा हिँडेको र बास बसेको बाटोको याद अझै छ हटारु ढाँटसँग । ठूलो समूहमा हिँड्दा यात्रा लामो हुने बताउँदै उनले जेलबाङबाट कोइलाबास पुग्दा बाटैभरि बास बसेको ठाउँको याद गरे । जेलबाङबाट नुन लिन कोइलाबासका लागि यात्रा थालेपछि बाटोमा हाङ्जा, छिर्ने, घोरालखोला, काँडाबास, लिबाङी आँप, राम्चे, देउराली, धौलाबाङ, घोराही, लमही र कोइलाबासलगायत ठाउँ भेटिन्थे । ती स्थानमा नुन बोक्ने हटारुहरू कैयौंपटक बास पनि बसेका छन् ।

‘जहाँ रात पर्छ, त्यहीं बास बस्थ्यौं,’ ढाँटले सम्झिए, ‘मानिसको डर थिएन । भूतप्रेत लाग्ला भन्दै चनाखो हुन्थ्यौं ।’

जेलबाङसम्मै सडक पुगेकाले अब उनलाई नुन बोकेरै खानुपर्ने बाध्यता छैन । बढी किनमेल गर्न उनी मोटरमै सुलिचौर बजार झर्छन् । नुन, तेल, खाद्यान्नलगायत सामान किन्न उनका छोरानाति जान्छन् । मुलुकमा राजनीतिक परिवर्तन, विकासमा नयाँ ढाँचा, फेरिएको समय, बजारीकरण र सडकको विकासले जीवनमै व्यापक फेरबदल आएको उनको अनुभव छ । ‘अब कोइलाबास जानै पर्दैन,’ उनले भने, ‘बाटोको विकासले उहिले कोइलाबासमा व्यापार गर्ने व्यापारीहरू अहिले रोल्पा–रुकुम–सल्यानका कुना कन्दरासम्म पुगेका छन् । सजिलो छ अहिले ।’

जेहोस्, व्यापारीलाई व्यापार व्यवसायले मन तानेजसरी जेलबाङका यी वृद्धहरूलाई गाडी देख्ने र चढ्ने रहरले मन तानेको छ । पूर्वोत्तर रोल्पाको जेलबाङ गाउँका उनीहरू अहिले सुलिचौर, लिबाङ र दाङसम्म आवतजावत गर्दा गाडी चढ्छन् । पूर्वी रोल्पाको जेलबाङ घर भएका सुनछहरी गाउँपालिकाका अध्यक्ष आसबहादुर पुनमगरले नुन, तेल र कपडा किन्न अब कोइलाबास पुग्नु नपर्ने समय आएको बताए । विगतको विकटता हटाउन विकासका योजना अघि सार्दै आएका उनले भने, ‘अहिलेसम्म सडक गाउँमा पुर्‍याएका छौं । अब सडकमार्फत गाउँको बहुआयामिक फाइदा हुने गरी विकासका सम्भावना वृद्धि गर्ने हो ।’

उहिले हटारु, अहिले यात्रु

बैंसमा गाडी चढ्न नपाए पनि अहिले हटारुहरू गाडी चढेर यात्रा गर्छन् । ‘गाडी सफा र चिल्लो हुने रहेछ, छाम्न पाए झन् मज्जा,’ पहिलोपटक गाडी देखेपछिको प्रसंग जेलबाङका ९० वर्षीय अति रोकाले सम्झिए । गाउँकी बाटीसरा विकसँग जेलबाङबाट सुलीचौर हुँदै लिबाङसम्मै गाडी चढेको अनुभव छ । हेर्न र औषधि खान उनी लिबाङ पुगेकी थिइन् । यहाँकी ८० वर्षीया गुठी रोकासँग पनि गाडी चढेर दाङ झरेको अनुभव छ । ‘मेरो जेठो छोरोलाई भेट्न कपिलवस्तुको शिवपुर पनि गाडीमै पुगेकी छु,’ उनले भनिन् ।

उहिलेको जमानामा अहिलेजस्तो गाडी देख्न कहाँ पाइन्थ्यो र ! त्यो पनि गाउँमा । अहिलेको कुरा गर्ने हो भने गाउँमा सडक पुगेको छ । सानै भए पनि गाडी आएका छन् । गाडी नदेख्ने वा नचढ्ने कमै होलान् । तर वृद्धवृद्धालाई सजिलो छैन । बढ्दो उमेर, बसाइ नै असजिलो हुन्छ, त्यसमा सबै गाउँमा भनेकै बेला पनि गाडी चढिहाल्न पनि मिल्दैन । ८० वर्षीया चामसरी परियारले भनिन्, ‘सुलीचौरबाट बुटवलसम्म गाडी चढ्दा केही सास्ती भयो । उल्टी भयो, टाउको दुख्यो, जीउ भारी भएर आयो ।’ उहिले उहिले नुन–तेल बोक्न महिनौं हिँडेर भारतीय सीमासम्म पुग्दा पनि गाडीको नाकमुख देखिन्नथ्यो । हिँडेरै आवत–जावत गर्नुपर्थ्यो । ‘नुन किन्न कोइलाबास पटकपटक पुगेको छु,’ गाडी चढ्ने अवसर नपाएका अति रोकाले भने, ‘मैले त्यसबेला न गाडी देखें, न चढ्ने मौका पाएँ । अझै गाडी चढेको छैन । देखेको भने छु ।’

घरबाट निस्कनु नपरेकाले उनले गाडी नचढेको बताए । यस्तै ५० वर्षकी खोष्टी सुनारले नजिकको बजार सुलिचौरसम्म पनि गाडी चढेर जाने अवसर नपाएको सुनाइन् । सडक पुगेपछि गाउँको विकास सम्भव भएको जेलबाङका पूर्वशिक्षक चन्द्र बुढा शेषले बताए । उनका अनुसार सडक निर्माणपछि गाडी गाउँमा ल्याएपछि फर्कंदा गाउँका जिनिस (घरेलु उत्पादन र जडीबुटी) बजार पुर्‍याएर बेच्न सक्नुपर्छ । यस्तो चलन भए मात्रै गाउँको आयस्तर वृद्धि हुन सक्छ । सडक बनेकाले भित्री गाउँमा पनि उत्पादन क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बेला आएको उनले बताए । ‘पहिले गाउँबाट पैसा जम्मा गरेर सामान किन्न बजार पुग्नुपर्थ्यो । अब पैसा लिएर मानिस हामीलाई खोज्दै सामान लिएर गाउँमा आइपुग्छन्,’ उनले भने ।

कान्तिपुर दैनिकमा प्रकाशित : पुस २५, २०७६ १३:३८

https://ekantipur.com/news/2020/01/10/15786428119386736.html?author=1

Leave a Reply

Your email address will not be published. Required fields are marked *