काशीराम डाँगी/(रोल्पा)

— पुराना कम्युनिस्ट कार्यकर्ता थबाङ गाउँपालिका–१ का गोरे दाइ भनिने ७० वर्षीय पूर्णबहादुर रोकामगर बिरामी परेर थलिएपछि उपचारका लागि काठमाडौंसम्म पुगे । फर्किएपछि गत उपनिर्वाचनमा थबाङका गतिविधि नियाले । ‘अहिलेको तौरतरिकाले विकास हुँदैन,’ उनले भने । अहिले गाउँपालिकाको केन्द्र रहेको ठूलोगाउँमा उनको घर छ ।

तत्कालीन वडाध्यक्ष फर्कबहादुर बुढामगरको गत वर्ष निधन भएपछि उक्त पदका लागि मंसिर १४ मा उपनिर्वाचन भयो । स्थानीय निर्वाचनमा नेत्रविक्रम चन्द समूह निकटले जितेका थिए । उपनिर्वाचनमा सत्तापक्षीय नेकपाका उम्मेदवार निर्वाचित भएका छन् ।

तत्कालीन माओवादी थबाङलाई ‘येनान’ भन्थे । पूर्णबहादुर त्यसबेलाका सक्रिय ‘योद्धा×’ थिए । ०३२ साउन १ मा कम्युनिस्ट पार्टीको सदस्यता पाएका थिए । त्यसयता ०६६ सालसम्म राजनीतिमा सक्रिय उनी अहिले तटस्थ रहेको दाबी गर्छन् । ‘पार्टी फुट्न थालेपछि त्यसको मारमा हामी पर्‍यौं,’ तत्कालीन माओवादी केन्द्रीय सल्लाहकार भइसकेका उनले भने, ‘हामीलाई आश्वासन दिएको जस्तो साम्यवाद आएन । आउला जस्तो पनि छैन ।’ फ्रान्सको पेरिस कम्युनको सिको गरेर तत्कालीन भूमिगत माओवादीले थबाङमा ‘कम्युन’ गठन गरेका थिए । मुलुकमा पहिलोपटक घोषणा गरिएको ‘अजम्बरी जनकम्युन’ का उनी सदस्य थिए । ‘कम्युनमा सहभागी गराउँदा साम्यवाद आउने आस थियो,’ उनले भने, ‘हाम्रो जे जति सम्पत्ति थियो, त्यो मिसाएर सामूहिक बसाइँमा गएका थियौं ।’

उनीलगायत २२ परिवारले एकैपटक निजी सम्पत्तिलाई सामूहिक बनाएर कम्युनमा सामेल भएका थिए । श्रीमान्को रोजाइ स्वीकार गर्दै कम्युन सदस्य बनेकी पूर्णकी श्रीमती ६० वर्षीया इर्खमालाले भनिन्, ‘कम्युनिस्ट बन्दा दु:ख पाइयो । ती दिन सम्झिन मन लाग्दैन ।’ त्यसबेला उनी राति घरमा बस्थिन् । दिउँसो जंगलमा लुक्ने गरेकी थिइन् । आफूहरूले यसरी नै तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतलाई जोगाएको उनले बताइन् । ‘प्रहरीले बन्दुकको नालले हान्दा देब्रे हात भाँच्चियो,’ उनले भनिन्, ‘तैपनि, नेतालाई जोगायौं ।’ यी दम्पतीले कहिले घर त कहिले जंगल चहारे । दुई छोरी र एक छोरा हुर्काए । अहिले छोराछोरी राजनीतिमा सक्रिय छैनन् । तत्कालीन माओवादीमा क्रियाशील भएर थबाङमा मारिएकी पहिलो महिला लडाकु लली रोका पूर्णकी बहिनी थिइन् । भूमिगतकालमा राजनीतिमा सक्रिय पूर्णका भाइ प्रदीप रोका पनि अहिले निष्क्रिय छन् ।

औषधि गर्न काठमाडौं पुगेका बेला होस् या तत्कालीन द्वन्द्वबारे अध्ययन गर्न थबाङ आउने अध्येताले पूर्णबहादुरसामु थुप्रै प्रश्न तेर्स्याउँछन् । थबाङमा जन्मिएको र कम्युनिस्ट कार्यकर्ता बनेकामा गर्व लाग्ने गरेको उनी सुनाउँछन् । ‘हामी मगर जाति सोझा हौं,’ उनले भने, ‘मोहनविक्रम सिंह, मोहन वैद्य, डा. बाबुराम भट्टराई र पुष्पकमल दाहालहरूले हामीलाई जे जस्तो बन्न सिकाए, हामी त्यस्तै भयौं ।’ उनका अनुसार यहाँ पार्टी नेतृत्वको रक्षा गर्ने क्रममा ३३ जनाले ज्यान गुमाएका थिए । त्यत्तिकै संख्यामा घाइते र अपांग छन् । थबाङ घर भएका पूर्व सांसदद्वय बरमन बुढा र सन्तोष बुढाका कारण गाउँ कम्युनिस्ट बन्यो ।

 

बरमन ०४८ मा र सन्तोष ०६५ मा रोल्पाबाट प्रतिनिधिसभाका लागि सांसद निर्वाचित भएका थिए । पूर्णका अनुसार थबाङमा ०१५ सालमै कम्युनिस्ट सेल कमिटी गठन गरिएको थियो । त्यसयता कम्युनिस्टहरू एकापसमा विभाजित हुँदै आएका छन् । पहिले पुष्पकमल दाहाल नेतृत्वमा रहेका स्थानीय नेता/कार्यकर्ता बीचमा मोहन वैद्य र पछिल्लो पटक नेत्रविक्रम चन्द समूहको नेतृत्वमा संगठित छन् । नयाँ संविधान बनेपछि स्थानीय कार्यकर्ताले निर्वाचन बहिष्कार गर्दै आएका छन् । ‘राजनीतिक आबद्धताका कारण उतारचढाव बेहोरेको थबाङमा वैचारिक/राजनीतिक सहजतापछि विकास सम्भव छ,’ पूर्णबहादुरले सुनाए ।

थबाङले अब राज्यबाट दु:ख पाउनु हुँदैन भन्ने पूर्णबहादुरलगायत यहाँका पुराना कार्यकर्ताको भनाइ छ । पूर्वसांसद बरमन बुढाका अनुसार थबाङ विकास खोज्ने क्रममा विद्रोही बनेको हो । विकास योजनालाई मुख्य एजेन्डा मानेर ०४८ मा तत्कालीन जनमोर्चाबाट सांसद निर्वाचित भएपछि बरमन पहिलोपटक सिंहदरबार छिरेका थिए । उनको दल माओवादीले ०५२ फागुन १ मा सशस्त्र द्वन्द्वको घोषणा गरेपछि उनी भूमिगत हुन पुगे ।

‘त्यसपछि शान्ति प्रक्रिया नहुँदासम्म थबाङ विकासका मुद्दा गौण भए,’ उनले भने । त्यस अवधिमा ठूलोगाउँका २१ घरमा एकैपटक आगो लगाइयो, सुरक्षा फौजले धरपकड गरे । तत्कालीन राज्यले चलाएको यस्तो गतिविधिबाट थबाङ झन् विद्रोही बनेको उनले बताए ।

थबाङलाई कम्युनिस्टले किन उद्गम भूमि बनाए भन्ने विषयमा ०६८ मा पूर्णबहादुरले एउटा पुस्तक लेखे । माओवादीले विद्रोह थाल्नुअघिदेखिका गतिविधि दैनिकी बनाएर उनले ‘क्रान्तिकारी इतिहास बोकेको थबाङ’ पुस्तक लेखेका छन् । पुस्तकमा उनले पञ्चायतकालदेखिको आन्तरिक शक्ति र व्यक्तिहरूको टकरावबाट समाजले पीडा भोग्नु परेको विषय उल्लेख गरेका छन् । पञ्चायत अवधिको तुलनामा थबाङमा पर्याप्त भौतिक विकास भएको छ ।

सडक पुगेको छ भने खानेपानी, शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रसँगको पहुँच स्थापित भएको छ । थबाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीमगरका अनुसार ठूलो राजनीतिक अन्योलपछि थबाङमा कृषि उत्पादन, गुणस्तरीय शिक्षा र भरपर्दो स्वास्थ्य सेवा पुर्‍याउने मुख्य योजना छन् । अहिले पनि चन्द नेतृत्वको गतिविधिको मुख्य केन्द्र थबाङमा छ । त्यसैले यो अझै विद्रोही अवस्थामै छ । ‘विकासको नतिजाबाट थबाङको वैचारिक एकता जुटाउन सकिन्छ,’ अध्यक्ष घर्तीमगरले भने, ‘स्थानीय तह त्यसमा केन्द्रित छ ।’

कान्तिपुर दैनिकमा प्रकाशित : पुस ६, २०७६ ०९:३४

https://ekantipur.com/news/2019/12/22/157698656582391923.html?author=1

Leave a Reply

Your email address will not be published. Required fields are marked *